इलाम : इलामको माइजोगमाई गाउँपालिका २, जोगमाईमा स्कुलबाट घर फर्किरहेका बालकलाई सोमबार बाढीले बगाएको छ ।
स्थानीय शनिश्चरे भन्ने ठाउँमा रहेको जोगमाई भ्याली बोर्डिङ स्कुलबाट छुट्टी भएपछि अघि साँझ घर फर्किरहेका १२ वर्षे आहान खत्रीलाई बाढीले बगाएको हो । उनी कक्षा ६ मा पढ्दैथिए ।
उनलाई स्थानीय बजुर खोलो (खोल्सो)मा आएको बाढीले बगाएर निकै तल जोगमाईसँग मिसिएको ठाउँछेउमै पुर्याएको माइजोगमाई २ का वडाध्यक्ष डम्बर सुवेदीले जानकारी दिए । बजुर खोल्सामा अरूबेला पानीबाटै तरेर हिँड्ने गरिएपनि भीषण वर्षापछि बाढी आएको थियो ।
खोल्मेस्थित लेप्चा परिवारमा मावलीघरमा बस्दै आएका बालक आहानको घर दाङ हो । उनी आफ्नी आमासँग मावलीघरमा थिए भने बुबा वैदेशिक रोजगारीमा रहेको जनाइएको छ ।
प्रतिक्रिया