मेची र रोङ विच स्रोतमा द्धन्द चर्किदै

मेची र रोङ विच स्रोतमा द्धन्द चर्किदै


रोङ/दिन देखि बन्द सिद्धि नहर खोल्ने, चुरेमा बग्ने मेची सिद्धि खोलाको नदिजन्य सामग्री निकाल्न बन्द गर्ने इलामको रोङ गाउँ पालिका र झापाको मेचीनगर नगरपालिका विच सहमती भएको चार घण्टा भित्र प्रहरीले सोमबार राती दुई वटा टिपर पक्राउ ग¥यो ।

अहिले ना ७ ख ६६२५ र को १ ख ४३९४ नम्बरको टिप्पर प्रहरीको नियन्त्रणमा राखेर अनुसन्धान शुरु गरेको काँकरभिट्टका डिएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए ।

सोमबार दिउसो जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलको नेतृत्वमा प्रदेश सांसद श्री प्रसाद मैनाली, मेची नगर नगरपालिका प्रमुख विमल आचार्य र रोङ गाउँ पालिकाका प्रमुख शमशेर सहितको बैठकले सिद्धिखोला, मेची नदी चुरे वफर जोनमा पर्ने भन्दै त्यहाँबाट गिटी, बालुका ढुंगा निकाल्न रोक लगाउने निर्णय गरेको थियो । निर्णय लगतै पक्राउ गरेको नदिजन्य सामग्रीको विल नगरपालिकाले काटेर बैद्यता प्रदान गरेपछि रोङ गाउँ पालिकाले मेची नगरले तस्करीलाई प्रोत्साहन गरेको दावी गरेको छ । रोङ ६का वडा अध्यक्ष मनीकुमार तामाङले मेची नगरपालिकाले सहमतीको उलङ्ंघन गर्न शुरु गरेको आरोप लगाए ।

टिपरले मेचीनगर नगरपालिका १ को तिरीङमा रहेको नदिजन्य सामग्री बोकेको उनले बताए । उनका अनुसार त्यहाँ राखेको सामग्री रोङ गाउँपालिकाको क्षेत्रबाट उठाएकाले त्यसलाई तत्काल उठाउन नदिने विषयमा समेत सहमती भएको थियो । उनले भने ‘जिल्ला समन्वय समितिले निर्णय नगरेसम्म सो क्षेत्रको नदिजन्य सामग्री उठाउन नदिने सहमती भएको थियो ।’

रोङ गाउँ पालिकाले रोङको क्षेत्रबाट उठाएको बालुवाको लाभ समेत रोङकै जनताले पाउनु पर्ने दावी गरेको रोङ गाउँ पालिकाका अध्यक्ष शमशेर राईले बताए । यता मेचीनगर नगरपालिकाका उपमेयर मिना उप्रेतीले तिरिङमा रहेको नदिजन्य सामग्री मेची नगरले ठेक्का लगाएको क्षेत्रकै भएको बताईन । उनले भनिन् ‘रोङ गाउँ पालिकाको दावीमा कुनै सत्यता छैन, त्यो मेची नगरकै अधिकारको सामग्री हो ।’

सोमबारको सहमतीमा रोङको क्षेत्रमा टिपर, ट्रक, ट्याक्टर प्रवेश गर्न नदिने उल्लेख छ । सहमतीमा लेखिएको छ ‘त्यस्ता साधन पैवेश गरेको भेटिएमा दुबै पालिकाले कानुनी कारवाहिका लागि स्थानीय प्रशासनमा लेख्ने ।’ अध्यक्ष तामाङले प्रशासनमा लेख्नुको साटो मेची नगरले विल काटेर बैद्यता दिएको बताए ।

मेचीनगरले गरेको प्रारम्भीक वातावरण मुल्याकन (आइइइ)मा मेनपा १ पात्ले खण्डको ७ सय मिटरको १९ हजार घन मिटर नदिजन्य उत्खनन गर्न मिल्ने प्रतिवेदनमा उल्लेख छ । मेनपाले त्यसैको ठेक्का लगाएको छ । अध्यक्ष तामाङले ठेक्का लगाएको बाहेक असोज यता ५ हजार टिपर अबैद्य नदिजन्य सामाग्री निकालीएको छ । उनले भने ‘त्यसको कर रोङले पाउनु पर्छ ।’

असोज देखि दैनिक ३० टिपर नदिजन्य सामग्री ओसारेको र त्यसलाई मेची नगरले बैद्यता दिन खोजेको तामाङले आरोप लगाए

नदिमा अराजकता

आलु, तोरी, तरकारी, सुपारी लगायतका खेती बालीमा सिंचाईको सख्त आवश्यकता पर्ने समय मा दश दिन सम्म इलामको रोङ ६ वाट वग्ने सिद्धि नहर बन्द भयो । झापाका तस्करहरुले खोला उत्खनन् नरोके पछि रोकीएको सिंचाई नहर मंगलबार देखि खुल्यो ।

सिद्धिखोला सिंचाई जल उपभोक्ता सस्थाका अध्यक्ष निलकन्ठ तिवारीका अनुसार खोलाको गिटी, वालुवा,ढुङ्गा उत्खनन नरोकीएको कारण नहर समेत संकटमा पर्दै गएको छ । बन्दले मेचीनगर १, २, ३ र ४ का कृषक प्रभावित भएका थिए । एक हजार ७ सय हेक्टर जमिनमा सिँचाइ सुविधा प्रदान गर्ने नहर बन्द भएपछि उपभोक्ताले स्थानीय प्रशासन गुहारे पछि सोमबार दुबै पक्ष विच छलफल भएको थियो । नहरमा प्रति सेकेण्ड तीन हजार ५३ लिटर पानी बग्ने गरेको छ ।

इलामको रोङ गाउँपालिकाले ढुंगा, गिटी, वालुवा उत्खननमा रोक लगाएको स्थानमा उत्खनन नरोकीए पछि सलकपुर गाउँका स्थानीयले सिद्धि नहरको गेट बन्द गर्नुपरेको रोङ ६ मा गठन भएको संघर्ष समितिका संयोजक निर्मल स्याङ्बोको दावी छ ।

असोज पहिलो साता देखिनै दुई स्थानीय तहमा चुरे दोहनको समस्या समाधानका लागि प्रयास भएपनि मेची नगरले चासो नदिएको कारण स्थानीयले नहर बन्द गरेको रोङ ६ का वडा अध्यक्ष मनिकुमार तामाङले बताए । स्थानीय प्रहरीले केहि दिन यता चारवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । स्थानीयले दोहनका विरुद्धमा बोल्नेलाई तह लगाउने सम्मको धम्की दिने गरेको कारण धेरैले मुखै खोल्न नसक्ने स्थानीय बताउँछन् । असोजको पहिलो साता रोङ ६ सलकपुरका सत्यराज तामाङलाई ढुङ्गा व्यवसायीले हातपात गरेका थिए ।

दशै अघि मेची नगरका ४ वटा ट्याक्टर सलकपुर प्रहरीले पक्राउ गरेपछि इलामको रोङ गाउँ पालिका र झापाको मेचीनगर नगरपालिका विच चुरे क्षेत्रमा गिटी बालुवा ढुंगा उत्खनन तत्काललाई बन्द गर्ने, वृक्षरोपण लगायतका कार्यक्रम सञ्चालन गर्ने सहमती भएको थियो ।

स्थानीयले मेची नगरपालिका वाड न १ र २ को ट्याक्सी व्यवसायी तस्करीमा सम्लग्न रहेको संघर्ष समितिका संयोजक निर्मल स्याङ्बोको आरोप छ । स्थानीयले केहिदिन अघि मेची खोलाको अमले कुइनोबाट चारवटा ट्याक्टर पक्राउ गरेका थिए । पक्राउ परेका ट्याक्टरलाई वन संरक्षण ऐन अन्तरगत कारवाहि शुरु गर्न दुबै तह सहमत भएका छन् । मेती नगरकी उपप्रमुख उप्रेतीले हिजो पक्राउ परेका टिपरलाई पनि कानुन अनुसार कारवाहि प्रकृया अघि बढाउने बताइन् ।