‘द हन्ड्रेड’को ड्राफ्ट आज, सन्दिप छनोट होलान ?

एजेन्सी । इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्ट आज हुँदैछ । लण्डनमा आयोजना हुने ड्राफ्ट नेपाली समय अनुसार राति ११ः४५ बजे सुरु हुनेछ ।‘द हन्ड्रेड’ को ड्राफ्ट नेपाली क्रिकेट प्रेमीहरुको लागि पर्खाइको विषय हुनेछ । किनकी, नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछाने विदेशी कोटाको ड्राफ्टमा अटाएका छन् । ड्राफ्टमा अटाउने सन्दीप एक्लो नेपाली खेलाडी हुन् ।

द हन्ड्रेडको ड्राफ्टमा सन्दीपको न्यूनतम मूल्य १ लाख पाउण्ड (१ करोड ४७ लाख) नेपाली रुपैयाँ रहेको छ । १ लाख पाउण्डको ड्राफ्टमा सन्दीपसँगै ग्लेन म्याक्सवेल, आन्द्रे रसेल, हरभजन सिंह, राशिद खान, शाकिब अल हसन लगायतका खेलाडी छन् ।आयोजकले विदेशी कोटाका खेलाडीको न्युनतम मूल्य १ लाख २५ हजार पाउण्ड र १ लाख पाउण्ड राखेको छ ।

१ लाख २५ हजार पाउण्ड न्युनतम मूल्य भएको खेलाडीको ड्राफ्टमा क्रिस गेल, स्टिभ स्मिथ, मिचल स्टार्क, डेविड वार्नर, क्विन्टन डी कक, लुंगी नेग्दी, कागीसो राबाडा र लासिथ मालिंगा रहेका छन् ।इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा ८ टिम रहने छन् । प्रतियोगिता सन् २०२० को १७ जुलाई देखि १६ अगष्टसम्म हुनेछ ।