इलाम–माइपोखरी म्याराथुनको उपाधि आर्मीका हुमलाल र पुलिसकी रापुरालाई

इलाम–माइपोखरी म्याराथुनको उपाधि आर्मीका हुमलाल र पुलिसकी रापुरालाई


इलाम वैशाख १ :

नयाँ वर्षको अवसरमा शुक्रबार भएको इलाम–माइपोखरी म्याराथुन प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका हुमलाल श्रेष्ठ विजयी भएका छन्। ४२.२ किलोमिटर दुरी श्रेष्ठ २ घन्टा ५८ मिनेट १६ सेकेन्डमा पार गरी विजयी बन्नु भएको हो ।विजेता श्रेष्ठले नगद अढाई लाख पुरस्कार पाउनु भएको छ । आर्मीकै मोहनदेव जोशी ३ घन्टा ५ मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो बनी डेढ लाख नगद प्राप्त गर्नु भयो । आर्मीकै बेद सुनुवार तेस्रो बनी १ लाख नगद पुरस्कार पाउनु भयोे । सुनुवारले ३ घन्टा ५ मिनेट ३५ सेकेन्डमा दुरी पार गर्नु भयो । पुरुषतर्फको प्रतियोगितामा ९७ जना धावक सहभागी भएका थिए । महिला म्याराथुन नेपाल पुलिसकी रापुरा पछाईले जित्नु भयो । २१.१ किलोमिटरको दुरी उहाँले १ घन्टा ४७ मिनेट ४५ सेकेन्डमा पार गरी नगद १ लाख पुरस्कार जित्नु भयो । । महिलातर्फ सशस्त्र प्रहरीको एपिएफकी पुष्पा भण्डारी दोस्रो बन्नु भयो । १ घन्टा ५८ मिनेट २१ सेकेन्डमा निर्धारित दूरी पार गरी उहाँले नगद ५० हजार पुरस्कार पाउनु भयो । । आर्मीकी पूर्णलक्ष्मी नेउपाने १ घन्टा ५९ मिनेट १९ सेकेन्डमा दूरी पार गरी तेस्रो हुनु भयो उहाँले नगद ३५ हजार प्राप्त गनु भयो । महिलातर्फ २७ जना धावक सहभागी भएका थिए । पुरुषतर्फको दौड इलाम नगरपालिका–१०, गोदकको नारायण चोकबाट र महिलाको इलाम सदरमुकामबाट सुरु भएको थियो।
दुवैतर्फको दौडको अन्तिम बिन्दु सन्दकपुर गाउँपालिकाको देउराली बजारछेउको सातखाल्डे खेलमैदान थियो। ‘खेलकुदको विकास स्वस्थकर जीवन, इलामको अभियान–पर्यटन प्रवर्धन’ नारासहित म्याराथुन आयोजना गरिएको हो। पुरुष म्याराथुनको दूरी पार गर्न ४ घन्टा १० मिनेट र महिलाका लागि २ घन्टा ५ मिनेट समय निर्धारण गरिएको थियो। पर्यटकीय गन्तव्यलाई खेलकुदका माध्यमबाट राष्ट्रिय–अन्तर्राष्ट्रिस्तरमा परिचित र चलायमान गराउन प्रतियोगिताले सघाउने इलाम नगरका मेयर केदार थापाले बताउनु भयो । इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र सदरमुकामस्थित नेपाली सेनाको रणशार्दूल गणले संयुक्त रूपमा म्यारथुन आयोजना गरेका हुन्।