इलाम : उधौंली (चासोक तङना) को अवसरमा इलाम नगरपालिका ५ बिब्ल्याँटेमा हेलिबोध नकआउट पुरुष र महिला फुटबल प्रतियोगिता शनिबार देखि सुरु हुँदैछ । किरातीहरुको महान् चाड उधौलीको अवसर पारेर पर्यटन प्रबर्द्धन गर्दै स्थानीय फुटबल खेलाडीको खेलकौशल विकास गर्ने उदेश्यले प्रतियोगिता सुरु हुने आयोजकले जानकारी दिएको छ ।
पुरुषतर्फको प्रतियोगितामा १६ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजारसहित ट्रफि पाउनेछन् । विधागततर्फ उत्कृष्ठ खेलाडी, उत्कृष्ठ किपर, उत्कृष्ठ डिफेण्डर, उदयमान खेलाडी र सर्वाधिक गोलकर्तालाई समेत ट्रफिसहित पुरस्कृत हुनेछन
त्यसैगरी महिलातर्फ चार टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद १५ हजार र उपविजेताले नगद १० हजारसहित ट्रफि पाउनेछन् । विधागततर्फ उत्कृष्ठ खेलाडी, उत्कृष्ठ किपर, उत्कृष्ठ डिफेण्डर, उदयीमान खेलाडी र सर्वाधिक गोलकर्ताले ट्रफिसहित पुरस्कार पाउनेछन् ।
हेलिबोध खेलमैदानमा हुने दुवै प्रतियोगिताको फाइनल पुस १३ हुने आयोजक हेलिबोध फुटबल क्लबका अध्यक्ष पूर्ण फत्रले जानकारी दिनु भयो ।
चासोक तङनामकै अवसरमा पुस १५ गते साँस्कृतिक कार्यक्रम हुनेछ । साँस्कृतिक कार्यक्रममा ज्योति मगर, अस्मिता अधिकारीसहित सुभना वाङदेल, विजय राई, मन थुलुङ, सन्तोष नेम्बाङलगायतको साँगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।